• ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

    ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक
  • काठमाडौं ।आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको कुमारी हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर ‘लुट’ फ्लेवरको लाग्छ । तर, ट्रेलरमा समावेश दृश्य र संवाद रमाइला छन् । तीन मिनेट लामो ट्रेलरमा गाउँको ठिटो सहर पसेपछि कसरी गलत काममा फस्छ भन्ने देखाइएको छ ।  दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका छ । भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट फिल्म प्रभावित रहेको जानकारी दिँदै निर्देशक पाल्पालीले गाउँबाट सहर (काठमाडौं) आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषयलाई प्रस्तुत गरेको बताए । 

     ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने- ‘शंकर लामिछानेले विम्ब प्रतिविम्ब भन्ने लेखमा भूपिका कविताका बारेमा लेख्ने क्रममा भन्नु भएको छ, भूपिको लेखनको प्रभाव यो पुस्तामा मात्र होइन आउँदा पुस्तामा देखिन्छ । अब त्यो पुस्तामा म पनि परेँ ।’ दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ फिल्मको निर्देशन गरेका थिए, जसले विभिन्न अवार्डहरु जित्न सफल भएको थियो ।

    दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्मको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । फिल्ममा उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ ।