• मस्तिष्क व्यायामका पाँच विधि

    मस्तिष्क व्यायामका  पाँच विधि
  • १. मन लागेका कुरा लेखौँ
    मस्तिष्कको व्यायाम गर्ने सबैभन्दा सहज तरिकामध्ये लेखन पनि हो । यसकारण मनमा लागेका कुरा कपीमा लेखिहाल्नोस् । लेख्दा मस्तिष्कका दुवै भाग सक्रिय बन्नुका साथै सजीव रहन्छ । मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म लेखेको कुरा मस्तिष्कमा रहिरहन्छ । जुनसुकै उमेरमा यसले काम गर्छ । लेखाइ–पढाइले यसै पनि मस्तिष्क सक्रिय बन्ने विश्वास छ । 

    २. खाना बनाउन सिकाउने कक्षामा सहभागी बनौँ
    खाना बनाउँदा शरीरका कैयौँ इन्द्रियले काम गरिरहेका हुन्छन् । खाना बनाउँदा गन्ध, स्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन् । साथै, खाना बनाउँदा स्मरणशक्तिसमेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ । फरक किसिमको खाना बनाउन सिक्दा स्मरणशक्ति अझै बलियो बन्ने गर्छ । यसकारण नयाँ–नयाँ खानेकुरा बनाउन सिक्न विज्ञहरूको सुझाव छ । 

    ३. नयाँ–नयाँ सोख राखौँ
    नयाँ सीप र नयाँ–नयाँ सोख पाल्नु भनेको एक प्रकारले दिमागको व्यायाम नै हो । सिर्जनशील सोखहरू, जस्तै– गीत गाउनु, गीत रचना गर्नु, नाच्नु, नयाँ–नयाँ तरिकाले व्यायाम, योग गर्दा मस्तिष्कका विभिन्न भागले काम पाउँछन् । अझ वाद्यवादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायाम हो । जो बच्चामा वाद्यवादनमा रुचि र सोख छ, उसले अरू बालबालिकाले भन्दा फरक तरिकाले आवाज सुन्ने विज्ञानले पुष्टि गरिसकेको छ । यसकारण तपाईंहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यवादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत सोखको विकास गर्न सक्नुहुन्छ ।  

    ४. कोठेपद मिलाउने कोसिस गर्नुहोस्
    खेल तथा पजल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ । यसले भविष्यमा हुन सक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ । यसकारण आजैदेखि पत्रपत्रिकामा आउने कोठेपद, पजलहरू मिलाउन कोसिस गर्नुहोस् । साथै, सुकुडु, क्युब मिलाउने, चेस खेल्दा पनि मस्तिष्कको व्यायाम हुन्छ । 

    ५. नयाँ–नयाँ भाषा सिक्नुहोस्
    सुन्दा अचम्म लाग्न सक्छ, नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायाम हुन्छ भनेर । तर, यो सत्य हो कि नयाँ–नयाँ भाषा सिक्दा मस्तिष्कमा उत्तेजना पैदा हुन्छ र मस्तिष्कमा रहेका सबै प्रकारका अवरोध खुल्न थाल्छन् । किनकि, भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नुपर्छ । जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ । विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिमसमेत कम हुन्छ ।  

    – एजेन्सीको सहयोगमा