• राजेश पायल राइमाथि भएको खुल्ला हमलाबाट के पाठ सिक्ने ?

    राजेश पायल राइमाथि भएको खुल्ला हमलाबाट के पाठ सिक्ने ?
    • शशी थापा सुब्बा

    पहिला वा कुनै समय कलाकार ,दर्शक र आयोजक अनि संचारकर्मी बीच  मर्यादितरूपमा नितीगत स्पष्टता सहित  तयार  पारिएको खाकाभित्र रहेर एउटा शालिन र सौम्य वातावरण तयार भएपछि  मात्र कार्यक्रमहरू हुने गर्थ्यो ।आयोजकले दिएको अधिकार भित्र बसेर उदघोषकले कार्यक्रम संचालन मात्र होइन त्यो समयावधि भरिको सुरक्षा र सुरक्षाकर्मीलाई पनि उसैले कन्ट्रोल गर्दथ्यो ।

    आयोजक कतिको अनुभवी छ र कतिको सुरक्षित तवरले कार्यक्रम  गर्दछ भन्ने कुरा  कलाकारद्वारा  बुझ्ने काम हुन्थ्यो । कलाकार कतिको अनुशासित र प्रिय छ त्यो आयोजकले बुझ्थ्यो ।
    तालिम प्राप्त  उदघोषक को हो आयोजकले खोजी गर्थ्यो। आयोजकको कमी कमजोरी के देखिएको छ औंल्याइदिने  र कलाकारको  जिवन सम्बन्धी केहि रोचक खोजहरू गर्ने , कार्यक्रम गर्ने स्थानको दर्शकको मनोभाव र गुणस्तर  बुझेर उदघोषकले कार्यक्रमको रूपरेखा तयार  गरेर दिन्थ्यो।  र आयोजकले पनि कार्यक्रम संयोजकको  पहलमा हलभित्र , स्टेज , कलाकार, संचारकर्मी , अतिथि  र दर्शक दिर्घाको दुरी समेत छुट्याएर सुरक्षाको निमित्त बेलाइएको प्रहरी, सुरक्षाकर्मी कता कता राख्ने ? सब तय गरिन्थो ।

    उदघोषकले कार्यक्रम शुरु हुनु अघि  सबै निरिक्षण गरेर मात्र कार्यक्रम थालिन्थ्यो।  संचारकर्मीले पनि तोकिएको ठाँउहरूबाट मात्र क्यामेरा तेर्स्याउने गर्थे। स्टेजमा जो कोहि हिड़न वा चढन गए साह्रै असभ्य र अमर्यादित मानिन्थ्यो । उदघोषकले पनि आफ्नो समय सिमालाई  मात्र प्रयोग गर्थे र समय लिइहाल्नु  परे  एकदमै अदबका साथ दर्शकलाई क्षमा याचना गर्दथे ।कलाकारले पनि पैसा भन्दा ठूलो कुरो इज्जत ठानेर कुन ठाँउ र कस्तो हलमा गर्ने भनेर सोध्ने गर्थे ।

    पहिला पहिलाको हलहरूमा ( बार ) पेय प्रदार्थ पाउदैन वा हुदैन थिए । कलाकारहरू आफू माते पनि मातेको दर्शक  चाँहदैनन थिए ।
    तर !!! आज भोली यी सबै हुदैनन र यसको ठिक उल्टो हुन्छ। बदलिएको यस्तो परिस्थितिबाट के आशा गर्ने ?अझ बिदेशको कुरो गरौं भने – सबैलाई संचारकर्मी बन्नु छ । त्यसो त  राम्रा आयोजकहरू पनि नभएका होइनन बिदेशमा तर सबैलाई आफै आयोजक  बन्नु छ ।  भाषा र स्टेजको नियम गोली मारो , सबैलाई  उदघोषक बन्नु छ ।

    अनि उदघोषक  देखी आयोजक सम्मलाई लाइभ भिडियो  खिच्नु छ ।  कलाकारले पनि दर्शक स्टेजमा चढेन भने पनि आफै भूँईमा झरेर दर्शक तताउनु छ ।गीतमा ताल र स्केलको कुरो रहेन, दर्शकलाई माईक तेर्साएर गाउनु लगाउनु छ, जुनसुकै पबमा होस कि रेष्टुरेन्टमा होस डलर भए हुन्छ ।
    आयोजक पनि बिदेशमा भएसी गरिब देशको ठूला र सम्मानित कलाकारहरूलाई धाप मारेर संगै बस्ने र फोटो संजालमा राख्न पाएसी ठालू भैहालेको भान हुन्छ।
    आफ्नो   देशको कलाकार आफ्नै सम्पत्ति  भन्ने भूलेर सस्तो व्यवहार  गरेर आफू चै ठालु बन्नु पर्ने प्रवृति छ ।

    बिदेशमा जानु नै छ कलाकारलाई केहि नबुझे पनि  । बिदेशमा कार्यक्रम गर्नु नै छ संस्थाहरूले केहि नजाने पनि । कलाकारको इज्जत र इमान भन्दा पनि पैसा र शानको निम्ति  कला माध्यम बनेपछि  नेपाली कलाकार र संघसंस्थाहरूको के मान होस त ? अझ बिदेशमा त सेक्यूरिटी गार्डहरूको पनि राम्रो व्यवस्था भएकोले  केहि रकम तिरेर ल्याउन सकिन्छ । यस्तो कुरा  संधै  कलाकार  झिकाएर कार्यक्रम गर्ने अनुभवी आयोजकलाई सोध्न  सकिन्छ  तर आफै जान्ने हुनुपर्ने हामी नेपालीमा सोधेमा सानो भइने सोच छ।
    हाम्रो नेपाली कलाकारले बिदेशमा नेपाली बजार पाउनु , बिदेशमा बस्ने नेपालीले नेपाली कलाकार र कलालाई    बिदेशी भुमिमा स्वागत गर्न पाउनु यो  हामी दुवै पक्षको लागी सुनौलो  अवसर मात्र   होइन अहो भाग्य पनि हो।

    आयोजकको कमजोर व्यवस्थापनका कारण आज राजेश पायल राई जस्तो स्थापित र सम्मानित कलाकारले लाइभ शोमा यति ठुलो अपमान भोग्नु परयो।अपमान मात्र होईन उनको ज्यान नै जोखिममा परेको थियो । “मुन्टो बटारे पछी झन धेरै बेर गायो। हाम्रो कलाकारलाई केहि भाको छैन।  ठूलो कलाकारको फ्यान पनि खत्रा नै हुन्छ नि ।” भन्ने  टाइपको गैरजिम्मेवार भनाइ  आयोजकहरूबाट  नै आएपछि  खतरामा राजेश पायल राई त परिसकेको छ अब अरु जोकोही बिदेश कार्यक्रम गर्न जाने   कलाकारहरूको जीवन जोखिममा पर्ने निश्चित देखिन्छ ।
    हामीले समयको माग र परिवर्तन भन्दै कलालाई त मजाक बनायौ नै अब आफै कलाकार पनि मजाक बन्न थालेको दृश्य हो यो। त्यसैले अब इज्जतले कमाएको पैसा र पैसाले कमाएको इज्जतको नापतौल गर्ने बेला आइसक्यो। राजेश पायल राई माथि भएको खुल्ला हमलाबाट नेपाली कलाकार र बिदेशमा रहेका आयोजकले  समयमै पाठ नसिके यस्ता हर्कत दोहोरिएर कला र कलाकारको मात्र होइन  सारा नेपालीको बदनाम हुने दिन आउन बेर छैन ।

    hongkongkhabar.com बाट